हामीलाई अब नयाँ आन्दोलन र विद्रोह चाहिएको छ : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिकारीहरुले गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । बुधबार जनयुद्धका सहिद सुरेश वाग्ले (वासु) को २२ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र र बाहिरका प्रतिक्रान्तिकारीहरुले गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका हुन् । उनले एकथरी शक्ति एमसीसी लगाइदिएपछि गठबन्धन भत्किन्छ भन्ने सोचेर लागिरहेको बताए । ‘ देशमा अब  नयाँ आन्दोलन चाहिने देखिएको छ, गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ । देशभित्र र बाहिरबाट’ प्रचण्डले भने, ‘हामीले गणतन्त्र, संविधान र देशको रक्षाका लागि गठबन्धन भनेका छौ । एकथरी एमसीसी लाइदिएपछि गठबन्धन भत्किन्छ भनेर लागेका छन् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफुहरु एमसीसी यथास्थानमा पास गर्नु हुँदैन भन्ने पक्षमा रहेको बताए । ‘हामी यथास्थानमा एमसीसी हुँदैन भन्ने पक्षमा छौ’ उनले भने, ‘तर अर्को वर्ग गठबन्धन तोड्ने र प्रतिक्रान्तिलाई कसरी सघाउने भनेर घेरा हाल्ने प्रयासमा छ ।’ अध्यक्ष प्रचण्डले संसदवादको बाटो हिँडेर समाजवादमा नपुगिने पनि बताए । ‘त्यसकारण जरुरी पर्यो भने पहिला त हामी पार्टीहरूसँग छलफल गर्छौ । मधेसी, महिला मुस्लिमका अधिकारका लागि , भएन भने जनतामा बहस गरेर जनतामा जाने, कस्तो व्यवस्था र प्रणाली चाहिएको हो ?’, प्रचण्डले अहिलेको निर्वाचन प्रणाली बदल्नु अति आवश्यक भएको पनि बताए । अहिलेको चुनावी प्रणालीबाट सामान्य मानिसले वडाको चुनाव समेत लड्न नसक्ने अवस्था भएकाले यो निर्वाचन प्रणालीलाई बदल्नुपर्ने प्रचण्डको भनाइ छ । यसतर्फ जाँदा सुनुवाइ नभए माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी ल्याउने बताए । त्यसपछि आफैं भित्रको फोहोर मैला पनि सफा हुने र प्रतिक्रान्तिकारीहरु परास्त हुने प्रचण्डले बताए । ‘नयाँ आन्दोलन र विद्रोह चाहिएको छ, जसले हामी भित्रको फाहोर सफा होस् । आफुलाई बदल्न तयार हो कि होइन ? मैले ठिक गरेको छैन भन्नेतिर हाम्रो चिन्ता नै भएन, गल्ती त्यही भएको छ’ पहिला आफु सच्चिन आवश्यक रहेको प्रचण्डको भनाइ छ ।

अब अहिले हामी कताकता, गलत व्यवहार, शैली र सहि विचार र राजनीति । विचार र राजनीतिले हामी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समाजवाद, समाजवादउन्मुख अर्थतन्त्र, उत्पादनका निम्ती संघर्ष, श्रमसँग सम्बन्ध, इत्यादि, इत्यादि ठिकै कुरा गरेका छौ हामीले । व्यवहार हेर्यो भने आज अलिकति संसदवाद, भोलि अलिकति संसदवाद हुँदाहुँदै एमाले भैरहेका छौ । आन्दोलन गर्ने भन्यो भने जुरुक्कै उठेर सडकमा हाम फाल्छौ । सत्ताको कुरा आउदा संसदवादी देखिन्छौ । यस्तो दोसाँधमा हाम्रो पार्टी परेको छ अहिले । यो भन्दा अलि उत्तापटिट गयो भने एमाले हुन्छौ माओवादी सिद्धिन्छ । यो भन्दा अलिकति बायाँतिर ढल्क्यो भने क्रान्तिकारी महान पार्टी भएर फेरि एकचोटी देशलाई झक्झक्याएर नेतृत्व गर्नसक्छ । हामीले आत्मसमीक्षा थप गरेका छौ, हामीले पनि गल्ती गर्यौ । तपाईहरुले हेर्नुभयो १९ पृष्ठ लामो केपी प्रवृत्तिका विरुद्धको संघर्षको दस्तावेजमा गल्ती हामीबाट पनि भयो भनेर खुलस्त भनेका छौ । माघ २८ को आमसभामा हामीले बोल्दाखेरि पनि भनेका छौ–हाम्रा पनि त्रुटि भए । अलि उदार भएर अनावाश्यक सम्झौता पनि गर्यौ र गलत प्रवृतिले त्यहाँ हावी हुने मौका पायो भनेर पनि भनेका छौ । हामीले यो संविधान बनाउने बेलामा केही नोट अफ डिसेन्ट दर्ता गरेका छौ संविधानसभामा । यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकार जति यो संविधानमा हुनुपर्ने हो त्यति छैन भनेर । आउने दिनमा यो संविधानलाई संशोधन र परिमार्जन गरेर ती वर्ग र जातीका मुद्दालाई अझ राम्रोसँग सम्बोधन गरिनुपर्छ भन्ने राखेका छौ हामीले । निर्वाचन प्रणाली जस्तो अहिले छ यो बुर्जुवा निर्वाचन प्रणालीले जनतालाई सत्ताको मालिक बनाउँदैन । यहाँ पुँजीपति र दलाल नै आइपुग्ने स्थिति हुन्छ त्यसकारण निर्वाचन प्रणाली पनि पूर्ण समानुपातिक प्रणालीले मात्रै नेपाललाई एकतावद्ध गर्न सक्छ । साथै सवै जातजाति, वर्ग समुदाय सबैलाई राज्यसत्ताको मालिक पनि बनाउन सक्छ भन्ने कुरा हामीले भनेका छौ ।

हामीले शासकीय स्वरुपमा पनि आम जनताले चुनेको मान्छे कार्यकारी प्रमुख बन्ने सिस्टमले मात्रै हामीलाई बिस्तारै बिस्तारै देशलाई एकतावद्ध बनाउँदै समाजवादतिर लान सक्छ । अहिलेको यो शासकीय स्वरुपले राजा महाराजा बन्ने खतरा छ त्यही स्प्रिड हो हामीले भन्न खोजेको । सायद यो बहस केही समयपछि अब चलाउनुपर्ने हुन्छ । एमाले र काँग्रेसजस्तो पार्टी नहुने हो र हामी राष्ट्र र जनताप्रति इमान्दार क्रान्तिकारी र प्रगतिशील पार्टी नै भइराख्ने हो भने यी मुद्दा लिएर शान्तिपूर्ण रुपले जनतामा जानुपर्ने, सडकमा निक्लनुपर्ने हुनसक्छ । त्यो दिन छिटै आउनसक्छ । उदेश्य पूर्व जाने राख्ने हिँड्ने पश्चिम । अनि कसरी पुगिन्छ पूर्व ? काशी जानु कुत्तिको बाटो भनेजस्तो गरेर हामी गन्तव्यमा पुगिँदैन । त्यसकारण जरुरी पर्यो भने । पहिला त हामी पार्टीहरुसँग छलफल नै गर्छौ । पहिला पनि हामीले दुई चोटी संविधान संशोधन प्रस्ताव दर्ता गरेकै छौ । मधेसी, जनजाती, आदिवासी, दलित, महिला मुस्लिमका हकअधिकार पहिचान स्थापित हुनुपर्छ भनेर । त्यतिबेला केही केही संशोधन त हुन्थ्यो, पुरै त हुँदैनथियो तर केही केही पनि हुन नदिने केपी ओली नेतृत्वको पार्टी नै हो । तर अब हामी फेरि एकचोटी छलफल गर्ने, भएन भने जनतामा बहस लिएर जाने । कस्तो समाज ? कस्तो निर्वाचन प्रणाली ? एउटा गाउँपालिकाको चुनावमा दुई तीन करोड खर्च गर्ने भए पुँजीपतिहरूले । अनि हाम्रो कार्यकर्ता के गरी चुनाव लड्ने गाउँपालिका र वडाको चुनाव लड्न पनि गाह्रो हुने स्थिति आउँदैछ । प्रदेशको चुनावमा दुई चार करोड नभइ नहुनेजस्तो, संघको चुनावमा १०, १५ करोड चाहिने । अनि गरिब र श्रमजीवीले त्यो चुनाव कसरी लड्ने ? हामी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता लड्यौ भनेपनि जित्ने स्थिति बनाउन दलाल पुजिपतिसँग र नोकरशाहसँग गलत सम्झौता गर्नुपर्ने भयो । त्यसैले यो निर्वाचन प्रणालीले हामीलाई ठिक ठाउमा लाँदैन भनेर जनतामा बहस लैजाने । अब त्यति गर्दा पनि भएन भने आन्दोलनमा जाने भिड्ने । शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी चलाउनुपर्ने पनि हुनसक्छ । हामीले जनयुद्धमा भन्ने गथ्र्यौ– क्रान्तिकारी युद्ध भनेको खाली प्रतिक्रान्तिकारी, सामन्तवादी, साम्राज्यवादी, प्रतिक्रियावादीलाई परास्त गर्ने आन्दोलनमात्रै होइन, हामी स्वयं क्रान्तिकारीभित्र भएको फोहोरमैला सफा गर्ने अभियान पनि हो । युद्ध र क्रान्तिले फोहोरमैला पनि सफा हुन्छ र दुश्मन पनि हार्छ । हामीलाई अब एउटा नयाँ आन्दोलन र विद्रोह चाहिएको छ । जुन विचारले हामीमा थुप्रिएको फोहोर पनि साफ होस्, फटाहाहरुलाई परास्त पनि गर्न सकियोस् यसरी पनि सोच्नुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्