अर्थ राजनीति ~ ऐतिहासिक दस्तावेजलाई केलाएर हेर्ने हो भने नेपाली राजनीतिक घटनाक्रम सबैभन्दा परिवर्तनशील बनेको मुलुक हो । राणा शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायत पुनः प्रजातन्त्र हुँदै अहिले गणतन्त्रको अवस्थाको बिचमा विभिन्न आरोह अवरोहको प्रत्यक्ष साक्षी र कारक बन्दै राजनीतिक घटना चक्रभित्र प्रमुख निर्णायक बनेको नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ । भौगोलिक रुपमा दुई ‘सुपर पावर’ राष्ट्रहरु, माओत्सेतुङको विचारधाराको मुलुक र गान्धीको अहिंसावादी प्रतिनिधित्व गरेको नेपाल आज इतिहासको अर्को कठघरामा उभिएको छ । विश्वकै सर्वशक्तिमान मुलुक बन्ने अभियानमा लागेको चीन र संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक प्रणाली अपनाएको भारत जस्तो देशसँग प्रभावशाली आर्थिक कुटनीति, सामाजिक तथा राजनीतिक कुटनीतिको धरातलमा नेपाल उभिन नसके देश एक गम्भीर दुर्घटनामा पस्ने परिस्थितिको यथार्थता मनन् गर्नुपर्ने अर्को गम्भीर अवस्था सिर्जना भएको छ । दुई ठूला शक्तिसम्पन्न मुलुकको बिचमा रहेर पनि आर्थिक विकास र भौतिक विकासमा खासै उन्नती गर्न नसक्नुको कारण आज देशका प्रत्येक सम्मानित नागरिकले बुझ्न र थाहा पाउनु अपरिहार्य छ । प्रत्येक राजनीतिक दलहरु र ती राजनीतिक दलका नेतृत्व वर्गहरुले बीपी कोइरालाले भनेको जस्तै देशको एक मुठी माटो शीरमा राखेर तीतो सत्य जवाफ नदिए इतिहासले उहाँहरुलाई कहिल्यै माफ गर्ने छैन । २०४६ सालको जनआन्दोलन र प्रजातन्त्रको उपलब्धिपछि करिब दुई दशक नेतृत्वमा रहेको नेपाली कांग्रेसले इतिहासको कठघरामा धेरै प्रश्नको उत्तर दिनै पर्दछ । बीपीको राजनैतिक मार्गदर्शनलाई कति अवलम्बन गर्न सक्यो, समाजवाद, प्रजातन्त्रको सुदृढीकरण, विकेन्द्रीकरण, आर्थिक सम्पन्नता जस्ता विषयहरुलाई ओझेलमा पार्दै नातावाद, कृपावाद, परिवारवाद, भ्रष्टाचार जस्ता विषयहरुको कति सम्बोधन भए, कति भएनन् ? जस्ता विषयहरुको प्रत्येक नेपाली कांग्रेसका कार्यकर्ताहरूले देशको एकमुठी माटो समातेर विवेचना गर्नैपर्ने आजको आवश्यकता हो । प्रत्येक महत्वपूर्ण जिम्मेवार ओहदामा बसेर चिल्ला गाडी चढ्ने, काठमाडौंमा महल ठड्याउँदै, राज्य संयन्त्रको बागडोर सम्हाल्दै बसेका नेतृत्व वर्गले कर्तव्यबोधका साथ आत्मालोचना गर्दै यथार्थताको पहिचान गर्दै समग्र तलदेखि माथिसम्मका नेताहरु एउटै पानामा उभिन पर्ने आजको अर्को अपरिहार्यता छ । यसका साथै राजनीतिक दलहरुले करिब १५ हजार नागरिकको रगतमा होली खेल्ने होस् अथवा केही समय राज्य शक्तिमा बसेर नेपालीले रगत र पसिनाबाट आर्जेको कमाई राज्यभित्र करको दायित्वको नाम राख्दै देशदेखि विदेशसम्म महल ठड्याउन संलग्न भएका सबै राजनीतिक दलहरूका नेतृत्व वर्गले पनि खाडीमा रगत र पसिना बगाएका मजदुरदेखि देशभित्र बिहान बेलुका पेटभरि एक छान नखाईकन बस्न विवश नेपालीहरुको आँशु पुछिने मलमपट्टी जवाफ दिनैपर्नेछ ।
ती नागरिकले के–का लागि जीवन गुमाए ? उनीहरुको बलिदानी केका लागि थियो ? त्यसको प्रतिफल उनीहरुका परिवार, यो समाज अनि देशले के पायो ? त्यसको उत्तर कसले दिने ? निश्चित व्यक्तिको निहीत स्वार्थका लागि हजारौं जनताको रगत बगेकोमा कुनै द्विविधा छैन । यदि देशका लागि हजारौंको बलिदान भएको भए अहिलेसम्म पनि देशमा राजनीतिक कु–संस्कार किन विद्यमान रहिरहनु ? सु–संस्कारको खोजीमा वा अन्य कुनै बहानामा भविष्यमा फेरि त्यस्तै नरसंहार नदोहोरिएला भनेर आम जनता कसरी विश्वस्त बन्ने ? त्यस प्रश्नको उत्तरका लागि श्रीमान्, श्रीमती, छोरा वा छोरी गुमाएका हरेक नागरिक व्यग्र प्रतिक्षामा छन् । अर्कोतिर विकसित, विकासोन्मुख मुलुकलाई नितान्त व्यक्तिगत स्वार्थका कारणले अशिक्षा, भोक, रोग, अन्याय र पीडाका घेरामा रहेका अधिकांश नेपालीको आवश्यकता सम्बोधन गर्नुको सट्टा अनावश्यक बाह्य प्रभावमा परी इतिहासकालदेखि कसैको अधीनमा नरही सार्वभौम स्वाधिनतामा रहेको नेपाललाई अनावश्यक विवादमा लैजाने अकर्मण्यता जस्ता विषयहरुमा हुँदै गइरहेको नेपाली कांग्रेसको महाधिवेशनले स्पष्ट पार्नुपर्ने अर्को आवश्यकता हो । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको स्वर्णिम नीतिको कुरा वा संयुक्त राष्ट्र संघमा दिएको भूपरिवेष्ठित, साना देशहरुको सार्वभौमसत्ताको सन्देशको कुरा अथवा छिमेकी तथा मित्रराष्ट्रहरूको बीचमा कुटनैतिक सन्तुलन र मर्यादाको अवधारणा जस्ता विषयहरु आज नेपाल र नेपालीको लागि अत्यन्त संवेदनशील देखिन्छ । वर्तमान नेपाल जस्ता अति कम विकसित मुलुकका नेतृत्वहरुको अज्ञानता, व्यक्तिगत स्वार्थ, बाह्य प्रभावले गर्दा ती देशहरुले विकराल परिस्थितिको सामना गर्नुपरेको कैयौं उदाहरणहरु छन् । कतिपय देशहरुमा नरसंहारको अवस्था देखिएको छ भने कतिपय मुलुकहरुमा बाह्य शक्तिको प्रत्यक्ष उपस्थिति रहेको छ । जसका कारण उत्पन्न भएको द्वन्द्वमा सोही देशले आफ्ना नागरिक गुमाउनु परेको छ, देशमा नरसंहारको अवस्था देखिएको छ । सुडान, हाइटी, इराक, लिबियालगायत कैयौं देशहरु र पछिल्लो उदाहरण अफगानिस्तान बन्न पुगेको सर्वविदितै छ । राजनीतिक विचारधाराको हिसाबले जुनसुकै विचारधारमा रहे पनि राष्ट्रियता तथा कुटनीतिक मर्यादाको सवालमा सबै राजनीतिक दलका नेतृत्वहरु, नागरिक समाजलगायत सबै क्षेत्रका सम्मानित नागरिकहरु एउटै पानामा नउभिए मुलुकका लागि सबैभन्दा ठूलो घातक सिद्ध भई संकटको दलदलमा नेपाल फस्ने तीतो सत्य यथार्थता छ । नेपाल जस्तो सानो मुलुकमा पनि सयभन्दा बढी राजनीतिक दलहरु रहनु, दलहरु राष्ट्रिय स्वार्थभन्दा अन्तर्राष्ट्रिय प्रभावमा पर्नु, राजनीतिक दल आफैंमा समस्याको विषय नभए पनि राष्ट्रप्रति उनीहरुको अज्ञानता, परिणाम विकराल समस्याको परिणाम बन्न सक्छ । राजनीतिक दल बीचको एकता नै मुलुक बचाउने सबैभन्दा ठूलो अस्त्र हो भन्ने कुरालाई नजरअन्दाज गर्नु नेपालका राजनीतिक दलका नेतृत्ववर्गको अज्ञानता राष्ट्रको समस्या हुनसक्ने कुरा मनन्योग्य भन्ने विषयमा द्विविधा नहुनसक्छ ।
आज समग्र नेपाली कांग्रेसका कार्यकर्ताको बीचमा धेरै सवालहरू छाएको छ । वर्तमान सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले विगत लामोसमय देखि पटक–पटक गरेर सत्ता सम्हाल्न पाएको अवसरलाई सदुपयोग कसरी गर्ने ? महामानव बीपी कोइरालाको अवधारणालाई कसरी पूर्णपालना गर्ने ? बीपीको पाँच दशक अगाडिको मेलमिलापको नीति अवधारणालाई कसरी अंगिकार गर्ने ? बीपीले प्रत्युत्पादन गरेको राष्ट्रिय मेलमिलाप, सत्य, न्याय, करुणा, क्षमा दान र शान्ति तथा समृद्धि जस्ता सिद्धान्तहरुको कसरी अनुशरण गर्ने ? जस्ता मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अपरिहार्यता छ । राजनीतिक दल बीचको विचारको द्वन्द्व, राजनीतिक दलभित्रको द्वन्द्वका कारण मुलुकले भोग्नुपरेको परिणामलाई मध्यनजर गर्दै आसन्न महाधिवेशनमा पनि राष्ट्रिय मेलमिलापको औचित्य पुष्टी गर्दै बीपीको मार्गदर्शनलाई पालना गर्नु आजको आवश्यकता देखिन्छ । नेपाली कांग्रेसले आफ्नो पहिलो प्राथमिकतामा नागरिकको सामाजिक सुरक्षा, आर्थिक उन्नतीका साथै शैक्षिक र नैतिकतामा जोड दिनुपर्छ । महाधिवेशनमा सामाजिक सुरक्षा लोक कल्याणकारी राज्यको अवधारणालाई अघि सार्दै न्यायोचित बाँडफाँडका साथै राज्यका लागि नागरिकको कर्तव्य र बहन गर्नुपर्ने दायित्वलाई अघि सार्नुपर्दछ, साथै राष्ट्रिय अर्थतन्त्रभित्रका मुद्दाहरूमा गम्भीरताका साथ छलफलमा ल्याउनुपर्ने आजको आवश्यकता वा गाम्भीर्यता हो भन्ने कुराबाट विचलित हुनुहुँदैन ।