ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी : उपेन्द्र यादव

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् । जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली–ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकाले उनीहरू सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे । यादवले भने, ’पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर–महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरूको कदमलाई हामीले बिफल पारिदियौं ।’संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धिहरूको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिका रूपमा उदय हुने विश्वास व्यक्त गरे । महन्थ–महतोको सांसद पद आफूहरूले जोगाई दिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरूको सांसद पद खोस्न सकथेम । तर, हामीले केही गरेनौं ।’अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन् । ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोके पनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो,’ उनले भने ।जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमन्त्री र मन्त्रीहरूलाई जनहितको कामलाई प्राथमिकता दिन कड़ा निर्देशन दिएका छन् । उनले भने, ’तपाईहरू जनताको काममा समर्पित भएर अन्य प्रदेशभन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस् ।’सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्