दशैँअघि ३३ % जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाउने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए । उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप लगाइसकेको जनाएको छ । राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोप आइसकेको र असोजमा २ करोड ५ लाख खोप आउने सुनिश्चितता भएको बताए । सबै नागरिकलाई खोप उपलब्ध गराउन करिब ५ करोड २२ लाख मात्रा खोप चाहिने र त्यसका लागि आवश्यक व्यवस्थापन गरिसकेको जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले चैत महिनासम्म सबैलाई खोप दिलाउने लक्ष्य पूरा हुने दाबी गरे । खोपका लागि अनलाइन फारम भरेकालाई धमाधम सम्पर्क गरी खोप लगाउने कार्य अघि बढाइएको जानकारी दिँदै उनले भने– ‘कोभिडबाट सबै नागरिकलाई बचाउन स्थानीय तहको सहयोगमा खोप लगाउने काम भइरहेको छ । अबको ६ महिनाभित्र सबै नेपालीलाई खोपको सुनिश्चितता गर्नेछौँ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्