‘अब माधव नेपालसँग एकताको सम्भावना छैन’ : पृथ्वी सुब्बा गुरुङ

Machchapuchchre

अर्थ राजनीति  ~  नेता पृथ्वी सुब्बा गुरुङ भन्छन् , एमालेको विभाजन भयो भनेर हल्लाखल्ला गर्नुको कुनै औचित्य छैन । एमाले विभाजन भएको होइन, चोइटिएको हो  तर, गर्न खोजेको विभाजनै हो, विपक्षी गठबन्धनले, कांग्रेस, प्रचण्डले । एमाले विभाजन भयो भनेर जनतासामु देखाउन खोजिएकै हो तर, उनीहरुको अपेक्षा पूरा हुन पाएन । एमाले विभाजन भएन, चोइटियो मात्र । माओवादीका अध्यक्ष प्रचण्डले एमाले फुटाउने नेतृत्व गरे । प्रचण्डले जुन उद्देश्यले एमाले विभाजन चाहनुभएको थियो, त्यो चाहिँ पूरा हुने अवस्था देखिएन । अब नेकपा एमाले एक ढिक्का भएर अगाडि बढ्छ । विधान महाधिवेशनको तयारी गर्दैछौं । ५/७ वर्षपछि पार्टी नवीकरणको अभियान सम्पन्न गर्ने चरणमा छौं । लगत्तै मंसिरभित्र पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न हुन्छ । त्यसपछि वायुपंखी घोडाको वेगमा चुनावको तयारीमा लाग्छौं । दोस्रो तहका नेताहरूले एकता भनेको पनि सुनिरहेको छु, किन त्यसो भनिरहनुभएको छ थाहा छैन । एकता अब तत्काललाई सम्भावना देखिँदैन । किनकि एकता त भइसकेको थियो नि ! तत्काल एकताको कुनै सम्भावना छैन । उहाँहरूको तागतले मात्र एमाले विभाजित भएको होइन, ठूलो शक्ति लागेको हो । तर, केही समयपछि एकताको सम्भावना रहन सक्छ । पहिले पनि ३/४ वर्षपछि एकता भएको हो । माधव नेपाल लामो समय एमालेको नेतृत्वमा रहनुभएको मान्छे हो । नेतृत्वमा नरहँदा पनि दोस्रो, तेस्रो भूमिकामा रहेर पार्टीको काम गरेको मान्छे हो । पार्टीमा जहिले पनि मूल धार र मुख्य भूमिकामा रहेर उहाँले काम गर्नुभएको हो । आज यो अवस्था किन पुग्नुभयो ? कसरी पुर्‍याइयो ? हामीले समीक्षा गर्ने, अनुसन्धान गर्ने त भनेकै थियौं ।

पार्टीको महाधिवेशनमा पराजित भइसकेको मान्छेलाई एउटा अध्यक्ष बनाउने भनेकै थियौं । तर, त्यसमा पनि उहाँहरू तयार हुनुभएन । र, त्यसमा पनि विभाजन गर्ने शक्ति सानो थिएन, ठूलो शक्तिको ठूलो डिजाइन थियो । त्यसले नै प्रभावित गरेको हो भन्ने लाग्छ । समयक्रममा साथीहरूले गल्तीको महसुस गर्नुहोला । पार्टी व्यवस्थापनमा के कमजोरी भयो, हामीले पनि छलफल गरिरहेकै छौं । प्रचण्डजी, माधवजीहरू जसरी पनि पार्टीलाई विभाजन गर्न र कमजोर बनाउन चाहनुहुन्थ्यो । गण्डकीमा त सबै दल मेरो नेतृत्वको सरकारमा बस्न तयार नै थिए । माथिल्लो गठबन्धनका कारणले तल पनि गठबन्धन बन्यो । माधवकुमार नेपालले एकजना साथीलाई राजीनामा दिन दबाब पनि दिनुभयो तर उहाँले दिनुभएन । एउटा पक्ष जसरी पनि भत्काउनै खोज्ने अनि दोष केपीलाई लगाएर हुँदैन । उहाँहरू लगातार संसद पुनर्स्थापनामा लाग्नुभयो र भयो पनि । संसद पुनस्र्थापना भएपछि पनि फेरि भत्काउनै खोज्न त जरुरी थिएन नि । त्यो त एउटा बहानामात्र थियो । उहाँहरू त पार्टी नै ध्वस्त पार्न लाग्नुभयो । संसद पुनस्र्थापना गर्न लागेको गठबन्धनको मुख्य लक्ष्य जसरी पनि केपी ओलीको सरकार ढलाउनै थियो । यो अभियानमा सबै शक्ति लागेका कारण आज यो अवस्था आएको हो । यो अवस्थासम्म आइपुग्न पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भएकाले ओलीको पनि भूमिका त होला तर मुख्य रूपमा पार्टी टुक्र्याउने र त्यो त्यसको दोष ओलीलाई लगाउने अभियानै चलेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्