काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्रीमा झर्यो, चिसो अझै बढ्ने अनुमान

Machchapuchchre

काठमाडौं । देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको थियो ।

मौसमविद्हरुले अब तापक्रम अझै घट्ने र चिसो बढ्ने अनुमान रहेको बताएका छन् । तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हुने हवाई उडान प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ : पौष २ गते (बुधबार) दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति: देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ३ गते (बिहिबार) दिउँसो: देशको पश्चिमि भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति: देशभर आंशिक बदली रहनेछ। त्यस्तै पौष ४ गते (शुक्रबार) दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । चिसो बढ्नसक्ने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्