कोरोना संक्रमण नियन्त्रणका लागि सरकारका तीन विकल्प

Machchapuchchre

अर्थ राजनीति  ~  पटक पटकको लकडाउन तथा निशेधाज्ञाले अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेपछि सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारमा तीन वटा विकल्पलाई रणनीतिको रुपमा अघि बढाएको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि सरकारले लकडाउन र निशेधाज्ञा गरेर संक्रमण नियन्त्रण गर्ने प्रयास गरेपनि यो पटकबाट भने सम्भावित संक्रमणपछिको उपचारका लागि अक्सिजन उत्पादन र संक्रमण फैलन नदिन मास्क र खोप अभियानलाई प्राथमिकता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साताव्यापी नेपाल मास्क अभियान शनिबारबाट शुरु गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले कोभिड–१९ को बढदो संक्रमण तथा जोखिम यथावतै रहेको अवस्थामा सबै नागरिकलाई सही तरिकाले मास्क लगाउने व्यवहारलाई प्रबद्र्धन गर्न मास्क अभियान संचालन गरेको बताइन् । केन्द्रले मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्न २३ साउन अर्थात शनिबारदेखि देखि २९ साउनसम्म नेपाल मास्क अभियान संचालन गरिएको हो । संचार केन्द्रकी निर्देशक थपलियाले अभियानको पहिलो दिन काठमाडौको सुन्धरामा अभियान र जनचेतना कार्यक्रम सञ्चालन गरी मास्क लगाउन आह्वान गरिने बताइन् । यसका साथै मास्कको गुणस्तर, प्रयोग, वितरण र उत्पादनका सम्बन्धमा अभियान संचालन गरिने छ । यो अभियान एक हप्ता भएपनि कोरोना संक्रमण नियन्त्रण नभएसम्म अभियानकै रुपमा कार्यक्रम संचालन गरिनेछ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शनिबार मास्क अभियानको औपचारिक उद्घाटन गदै सबैलाई मास्क लगाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । यसैगरी सरकारले सम्भावित कोरोना संक्रमणको वृद्धि र त्यसबिरुद्धको उपचारलाई व्यवस्थित गर्न अक्सिजन उत्पादन तथा खोप व्यवस्थापनलाई दोब्बर बृद्धि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षको माघबाट शुरु गरेको खोप अभियानलाई प्रभावकारी बनाउन खोप केन्द्रमा ५० प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैतमा ठूलो अक्सिजन ग्यास सिलिन्डर प्रतिदिन उत्पादन २ हजार १८९ रहेकोमा सो उत्पादन बढेर चालु आवको साउनमा ३ हजार ६९४ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी चैतमा अक्सिजन प्लान्टको संख्या ३० रहेकोमा सो संख्या चालु आवको साउनमा ६५ वटा पुगेको छ । यसैगरी सरकारले अक्सिजन प्लान्ट ६१ वटा र उत्पादन ५ हजार ३८१ थप गर्ने योजना रहेको जनाईएको छ । सरकारले तेस्रो तहरको कोरोना संक्रमण आउन सक्ने सम्भावनालाई मुल्यांकन गरेर ७ वटै प्रदेश सरकारलाई उत्पादन चुस्त दुरुस्त राख्न यस अघि नै पत्राचार गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १ लाख २० हजार भन्दा बढी मानिसले खोप लगाइरहेको जनाएको छ । यसका लागि मन्त्रालयले शुक्रबारबाट देशव्यापी खोप अभियान समेत संचालन गरेको छ । शुक्रबारसम्म २२ लाख ८ हजार ५५ ले पूर्ण र ४४ लाख ३ हजार २१ ले पहिलो मात्राको खोप लगाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्