मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नव नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष बहुमतको आधार पेस गरेर गत जेठ २९ गते पोखरेल मुख्यमन्त्री बनेका हुन्। त्यसको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअनुरूप मुख्यमन्त्री पोखरेलले नियुक्तिको ७ दिनमै आज विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि अहिले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन्। गत जेठ २८ गते पोखरेलले आफ्नो पार्टी कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ठिक्क बहुमत ३१ जनाको समर्थन जुटाई मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए। जतिबेला गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ६० थियो। तर यसअघि मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला पार्टीको ह्विपविपरीत तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ मा झेरको छ। योसँगै अब बहुमतको संख्या पनि ३० मा झरेको छ। गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन्। यसर्थ आज मुख्यमन्त्री पोखरेलले कथं पहिलेको समर्थनअनुसार बहुमत पाउन सकेनन् भने उनको पद त जाने नै छ, प्रदेश सभा पनि विघटनतिर जानेछ। प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री बनेका थिए। यस उपधाराअनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्