आयोगको निर्णय विरुद्ध जसपाको उपेन्द्र यादवपक्ष अदालत जाने

Machchapuchchre Bank

अर्थ राजनीति  ~  निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ । यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिए । ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उनले भने ।  अदालत जानुअघि आज कानुन व्यवसायीसँग छलफल गरिने उनको भनाइ छ । जसपाको निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष यादव लगायतलाई पार्टीबाट निष्काशन गरेका थिए । दुवैजनाले एक अर्कालाई यसरी कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराउँदै त्यहाँको दर्ता किताबलाई अध्यावधिक गर्न आग्रह गरेका थिए । तर निर्वाचन आयोगले दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गर्न नसक्ने भन्दै हाल रहेको पदाधिकारी नै कायम रहने निर्णय सुनाएको थियो । सो निर्णयलाई जसपा महन्थ ठाकुर पक्षले स्वागत गरेको छ भने यादव पक्षले आपत्ति जनाउँदै आएको छ । कार्यकारिणी सदस्य इस्तियाक राईले आयोगले जसपाको बारेमा गलत निर्णय गरेको बताए । आफूहरुले पार्टीको विधान, राजनीतिक दल सम्बन्धी ऐन अनुसार सबै प्रमाण दिएपनि आयोगले कानूनसम्मत निर्णय नगरेको कारण त्यसैको उपचार खोज्न आफूहरु सर्वोच्च अदालत जान लागेको बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्