अर्थ राजनीति ~ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ । बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा काठमाडौंबाट बाहिरिन चाहने उद्योगले आजैबाट प्रक्रिया सुरु गर्न सक्ने उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले जानकारी दिए ।‘उपत्यकामा बढेको जनघनत्वका कारण विस्तारमा समस्या झेलेका वा आफूलाई पायक पर्ने ठाउँमा जान जुनसुकै उद्योगले सरकारको यो सहुलियतमा सहभागिता जनाउन पाउँछन्,’ उद्योग सचिव पोख्रेलले भने अनलाइनखबरसँग भने । उद्योगको उत्पादन क्षमता, आकार वा लगानीका आधारमा यो सुविधामा फरक नपर्ने मन्त्रालयले जनाएको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगले पनि स्थानान्तरण चाहे सुविधा प्रदान गर्ने मन्त्रालयले जनाएको छ । यसअघि सानो क्षेत्रफलमा स्थापना भएका तर उपत्यकाको बस्ती विस्तारका कारण उद्योग बिस्तारमा अवरोध झेलेका उद्योगहरुले स्थानान्तरणको माग बेला बेलामा गर्ने गरेको मन्त्रालयले जनाएको छ । वातावरणीय प्रदूषणलाई लिएर उद्योग र बस्ती बीचको द्वन्द्व चर्किरहने भएपछि उद्योग र मानव बस्ती दुवैको हित सोचेर यस्तो निर्णय गरिएको सचिव पोख्रेलले बताए ।‘कुनै बेला खेतमा वा बस्ती नभएको ठाउँमा खुलेका उद्योग वरपर अहिले बस्ती भरिएको छ । जसका कारण उद्योगले समस्याहरु झेलिररहेका छन् भने उद्योगका कारण समस्या भएको भन्दै गुनासा गर्ने सर्वसाधारण पनि उत्तिकै छन्,’ सचिव पोख्रेलले थपे अर्कोतर्फ स्वच्छ र सफा राजधानी निर्माणका लागि पनि यो कार्याक्रम फलदायी हुन्छ’ अर्थ मन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा पनि ‘प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्य अनुरुप काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरूलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने उल्लेख छ ।
मन्त्रालयका अनुसार काठमाडौंबाट बाहिरिन चाहने उद्योगले पाउने सुविधा तीन प्रकारका छन् । उद्योगलाई महँगो जग्गा किन्न बोझ नथपियोस् भने र १० वर्षका लागि निःशुल्क जग्गा उपलव्ध गराउने यो कार्यक्रमको पहिलो सुबिधा हो । यसबाट उद्योग स्थापनामा सबैभन्दा महँगो र जटिल बन्दै गएको जग्गाको जोडजाममा उद्योगहरुलाई सहज हुने मन्त्रालयको विश्वास छ । यस्तै त्यसरी जाने उद्योगहरुले उद्योगका लागि पैठारी गर्ने मिल मेशिनरी र सोको पार्टपुर्जामा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ । स्थानान्तरण पछि सञ्चालनमा आएको पाँच वर्षसम्म ती उद्योगहरूको विद्युत डिमान्ड सुल्कमा शतप्रतिशत छुट दिइने पनि मन्त्रालयले जनाएको छ । उद्योग विभागको विवरणअनुसार २०४७ सालदेखि हालसम्म खुलेका घरेलु बाहेकका साना ठूला सबै उद्योगको संख्या काठमाडौं उपत्यकामा ६ हजार चार सय ७७ हाराहारी छन् । देशभरको कुल उद्योगहरुको संख्याको आधारमा उपत्यकामा रहेका उद्योगहरुको यो संख्या झण्डै ८० प्रतिशत हाराहारी हो । प्रस्तुत संख्यामा उपत्यकाको औद्यागिक क्षेत्रभित्र सञ्चालित उद्योगहरु पनि पर्ने विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार भक्तपुरमा एक हजार आठ सय ८७, ललितपुरमा ९ सय २५ र काठमाडौंमा तीन हजार ६६५ वटा उद्योगहरु २०७८ वैशाखसम्म दर्ता रहेको देखिन्छ । सरकारले उद्योग सार्न दिएको सुविधालाई उद्योगीहरुले भने राम्रो निर्णय भएको प्रतिक्रिया दिएका छन् । संसारका धेरै मुलुकहरुमा राजधानीबाट उद्योगहरु सार्ने प्रचलनहरु रहेको एक उद्योगी बताउँछन् । विश्वभरि नै राजधानी सहरमा हुने जनघनत्व र उद्योग बीचको द्वन्द्व समाधान गर्न यस्ता प्रयास हुने गरेको उनको भनाइ छ ।