अर्थ राजनीति ~ कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ३५ दिन बितिसक्यो र बुधबार मात्र जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ र कोरोना संक्रमण दर भने ३० प्रतिशतमाथि नै छ । बुधबार १६ हजार ८७८ नमुना परीक्षण गर्दा पाँच हजार ३१६ मा कोरोना संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमणदर ३१.४९ प्रतिशत छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साता पीसीआर परीक्षण घट्दो छ । जेठ १३ गते २० हजार ४१४ जनाको पीसीआर परीक्षण भएको देखिन्छ, तर संख्या बुधबार आइपुग्दा १३ हजार ८०५ मा झरेको छ । शनिबारबाट एकाएक परीक्षण घट्दा मन्त्रालयको अनुमान थियो, एन्टिजेन गाउँगाउँमा पठाएका छौं । त्यसलाई पखिएर मानिसहरु पीसीआर गर्न नआएका होलान् ।’यो साता एन्टिजेन परीक्षण बढेको पनि छ । जेठ १३ गते ५७८ जनाको एन्टिजेन परीक्षण भएको थियो । यो संख्या बुधबार तीन हजार ७३ पुगेको छ । तर अपेक्षाकृत रुपमा एन्टिजेन परीक्षण नबढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । ‘सातै प्रदेशमा पठाएको एन्टिजेनको संख्या साढे ११ लाख छ । तर अपेक्षाकृत रुपमा यथेष्ट परीक्षण भएको देखिँदैन’ उनले भने । संक्रमण दर ३० प्रतिशतभन्दा माथि रहेकाले परीक्षणको दायरा बढाउन जोड दिइरहेको उनले बताए ।
मन्त्रालयको तथ्यांकअनुसार बुधबार काठमाडौं उपत्यकामा दुई हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना छन् । संक्रमित संख्या केही कम भएपनि अझै तीन अंकमा छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा परीक्षणको दायरा बढाउनुपर्ने विज्ञहरुले बताइरहेका छन् । तर पीसीआर टेष्ट कम भएको उपत्यकामा एन्टिजेन परीक्षण अपेक्षाकृत बढेको छैन । काठमाडौं महानगरपालिकाले जेठ १४ यता करिब पाँच हजार जनाको एन्टिजेन परीक्षण गरेको बताएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नागरिकको पीसीआर एवं एन्टिजेन परीक्षण गरिरहेको महाननगरका स्वास्थ्य शाखा प्रमुख हरि कुँवरले बताए । आवश्यकता अनुसार सबै वडामा पीसीआर एवं एन्टिजेन परीक्षण भइरहेको भन्दै उनले भने, ‘यदि कसैलाई संक्रमण भयो कि भन्ने शंका लागेको अवस्थामा नजिकैको वडामा गएर परीक्षण गर्न सक्नेछन् । ’भक्तपुर नगरपालिकामा भने एन्टिजेन परीक्षण सुरु नै गरेको छैन । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाका अनुसार सरकारबाट ८५० वटा एन्टिजेन किट प्राप्त भएको छ, जसमध्ये तीन वटा मात्रै प्रयोग भएको छ । कन्ट्याक ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गरीरहेकाले एन्टिजेन परीक्षणमा केही ढिलाइ भएको उनको भनाइ छ । काठमाडौं उपत्यका बाहिर जिल्लाहरुमा पनि एन्टिजेन परीक्षण अपेक्षाकृत रुपमा बढेको देखिँदैन । कोरोना महामारीका कारण पर्साको जगरनाथपुर गाउँपालिका पूरै आक्रान्त बन्यो । गाउँभरिका मानिसमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि स्थानीयमा त्रास उत्पन्न भयो । जोखिमलाई मध्यनजर राखेर त्यहाँ एन्टिजेन परीक्षण गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र शाहका अनुसार हालसम्म दुई सयभन्दा बढीको एन्टिजेन किटबाट परीक्षण गरिएको छ । जोखिम कम भएपछि परीक्षण रोकिएको उनको भनाइ छ । ‘अहिले जोखिम छैन । ज्वरो, टाउको दुखेको विरामी नभएकोले परीक्षण रोकेका छौं’ उनले भने ।