लकडाउन पछि जनकपुर–जयनगर रेल सञ्चालन हुने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले थन्क्याएर राखेको रेल हालको निषेधाज्ञा सकिएसँगै सञ्चालन गर्ने फेरि दाबी गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक बजेट तथा कर्मचारीको व्यवस्थापन भइसकेको कारण लकडाउनको अन्त्य भएसँगै रेल सञ्चालनमा आउने बताए । आगामी वर्ष जयनगर–जनकपुर–कुर्ता–बिजलपुरा र जोगवनी–विराटनगर खण्डमा रेल सेवा सञ्चालन गरिने वाचा पनि उनले दोहोराए । तर, सरकारले भारतबाट ल्याएको रेलको डब्बा विगत पाँच महिनादेखि त्रिपालले छोपेर राखेको छ । बजेटमा बर्दिबास स्टेसनको निर्माण कार्य प्रारम्भ गरिने उल्लेख छ । मन्त्री नेम्बाङले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डको ट्र्याक बेल्ट निर्माण सम्पन्न गरिने भन्दै काँकडभिटा–इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी कार्य सम्पन्न गरी निर्माण कार्य थालनी गरिने पनि स्मरण गराए । निजगढ–अमरापुरी खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने पनि बजेटमा उल्लेख छ । वित्तीय व्यवस्था गरी बाँकी खण्डको निर्माण कार्य क्रमशः अगाडि बढाइने भन्दै मन्त्री नेम्बाङले आगामी आर्थिक वर्ष रक्सौल–काठमाडौँ तथा केरुङ–काठमाडौँ–पोखरा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बजेटमा उल्लेख भएको पनि जनाए । मन्त्री नेम्बाङले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा परेका योजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अहिलेदेखि नै सुरु भइसकेको पनि बताए । साथै, सार्वजानिक यातायातमा ई–टिकेटिङ लागू गरिने, काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गरी सार्वजनिक परिवहन सञ्चालनलाई व्यवस्थित बनाइने पनि उनले उल्लेख गरे । यस्तै, काठमाडौं कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङ मार्ग निर्माण गर्ने बारे पनि  उल्लेख गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्