घण्टौँसम्म इन्टरनेटमा बालबालिका हुँदा अभिभावक चिन्तामा

Machchapuchchre

अर्थ राजनीति  ~  निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो । सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर किशोरी  आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो ।

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणबाट बच्न सङ्घर्ष गरिरहनुभएका कैलालीको घोडाघोडीका हरिराम विकलाई यो निषेधाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला  कि भन्ने डरले सताएको छ । हप्काउँदा वा कुटपिट गर्दा केही बालबालिकाले आफ्नो ज्यान जोखिममा पारेको सुनाएका हरिराम छोरीलाई हप्काउन वा तर्साउन आफैँ डराउने गरेको बताउछन् । दशदेखि १५ वर्षसम्मका बालबालिकाहरू घण्टौँसम्म इन्टरनेटमा बिताइरहँदा उनीहरूमा मानसिक समस्या देखिने तथा आफूले खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने यहाँसम्म कि समयमा खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदासमेत झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै जाने मनोपरामर्शदाता सीता भण्डारीको भनाइ छ । अझ अहिले जारी निषेधाज्ञाको समयमा बालबालिकाहरु कोठाभित्र आनन्दले बसिरहेका छन् भनेर ढुक्कसँग बस्न नहुने उनको भनाइ छ । बालबालिकामा इन्टरनेट गेमको बढ्दो लत नियन्त्रण गर्न अभिभावक नै सचेत रहनुपर्ने मनोपरामर्शदाता भण्डारी बताउछिन् । परिवारमा अभिभावक र बालबालिकासँगै बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँनयाँ पकवानहरू बनाउन सिकाएर बढी समय व्यस्त बनाउन अभिभावकहरू सक्रिय हुँदा पनि बालबालिकामा बढ्दो इन्टरनेट गेमको लत घट्न सक्ने विश्वास भण्डारीको छ । अभिभावकले समयमै बालबालिकाको यो लतलाई नियन्त्रण गर्न प्रयास नगर्ने हो भने पछि गएर ठूलो समस्या हुने भन्दै अभिभावकले बढीभन्दा बढी समय आफ्ना बच्चाहरूसँग बिताउनुपर्ने मनोपरामर्शदाता भण्डारीको सुझाव छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्