अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक अदालतलाई दबाव दिनका लागि गरिएका राजनीतिक सभा र जुलुसहरूका कारणले कोरोना फैलन मद्दत गरेको बताएका छन् । त्यसका साथै भारतमा भएको कुभ्म मेला, बोर्डरको गतिविधि र देशभित्र भएका जात्रा पर्वहरुका कारणले पनि कोरोना फैलिएको बताएका छन् । तर, सरकारले प्रभावकारी काम गरेकाले अब कोरोना नियन्त्रणको दिशातिर अघि बढेको प्रधानमन्त्रीको दाबी छ । सोमबार आयोजित राष्ट्रिय युवा संघको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना र राजनीतिलाई एकै ठाउँ मिसाएर सम्वोधन गरे । सरकारविरुद्ध भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका विरुद्ध विस्तारित भएर लड्न आग्रह गरे । विगतमा प्रधानमन्त्रीले युवाहरुलाई यसै गरी अरिंगाल भएर जाइलाग्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५ मा आफूले संसद विघटन गर्दा सर्वोच्च अदालतबाट संविधानलाई जीवित अर्थमा हेरेर बुझ्ने र व्याख्या गर्ने काम हुन नसकेको भन्दै असन्तुष्टिसमेत प्रकट गरेका छन् ।
केही राजनीतिक शक्तिहरूले अदालतलाई दबाव दिने, जनशक्ति प्रदर्शनद्वारा अदालतलाई दबाव दिने खालका मनोवृत्तिहरु र अदालतलाई धम्क्याउनका लागि, अदालतलाई प्रभाव पार्नका लागि अनेक अस्त्रहरु चालिए । भूतपूर्वहरुका क्लब, स्थायी एउटा पक्षधरताका साथ र एउटा पूर्वनिर्धारित उद्देश्यका साथ न्यायको चर्चा गर्न खोज्ने र आफ्नो पूर्वको हैसियत, पूर्व भन्ने हैसियत, भूतपूर्व हैसियतको दुरुपयोग गरेर जनतामा भ्रम छर्ने र न्यायालयलाई दबाव दिने । प्रभावित पनि गर्न खोज्ने र दबाव पनि दिने । जनतामा भ्रम फिँजाउने । यस्ता प्रयासहरु पनि भए । यसै प्रशंगमा राजनीतिक दलहरु अदालतलाई दबाव दिनका लागि ठूला–ठूला र्याली सभा अनुशासनको पालना नगरिकन गर्ने एउटा दौड चलाउने । त्यस दौडले अरुलाई पनि तान्दै, आकर्षित गर्दै, बाध्य पार्दै लाने खालको परिस्थिति निर्माण गर्ने यी कुराहरु भए । जसले गर्दा पनि कोभिड फैलिन सहयोग ग-यो । अर्कातिर कोही कुम्भ जाने र सारेर आउने, कोही खुल्ला बोर्डरको कारणले सर्ने, कोही छँदै थियो, देशभित्रै पनि । त्यसलाई अनुशासनहीनताले सार्ने । अनेक प्रकारका कमीकमजोरी, अन्धविश्वास, जात्रा पर्वजस्ता कुराहरूबाट यो फैलिन सहज भो । महामारी भन्ने कुरा पूर्वसूचना गरेर पनि आउँदैन । महामारीको जस्ता कुराको पूर्वतयारी पनि कसैले गरेको हुँदैन । गर्न सम्भव पनि छैन । के महामारी आउँछ, केको तयारी गर्नु ? त्यसकारण महामारी जतिबेला आउँछ, त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्न र त्यसको सामना गर्न तयार हुनुपर्छ । हामीले केही दिन समस्या झेले पनि अब हामी नियन्त्रणतर्फ नियन्त्रणतर्फ लागेका छौं अक्सिजन सिलिन्डर, भेन्टिलेटर, आइसीयु, बेडजस्ता सबै कुरामा रहेका अपर्याप्तताहरु अब हामीले पर्याप्त बनाइसकेका छौं । अब हामीलाई भ्याक्सिन चाहिएको छ । सरकार भ्याक्सिन ल्याउने प्रयत्नमा लागिरहेको छ र केही समयभित्रै भ्याक्सिन ल्याउँछ । र, भ्याक्सिन लगाउँछ । नेपालीस् जनतालाई सुरक्षित बनाउँछ ।