अर्थ राजनीति ~ कोभ्याक्स अन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप कोभ्याक्सलाई समेत तत्काल नदिइने भएपछि त्यसको विकल्प खोजिएको हो । कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा खोपको नाम दिन जेठ १८ सम्म समय दिएको छ । नेपालले कोभ्याक्सअन्तर्गत १ करोड ३० लाख मात्रा खोप पाउनेछ । यसमध्ये ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप प्राप्त गरिसकेको छ । खोप सल्लाहकार समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने र कम लागत लाग्ने खोप विकल्पमा सिफारिस गरिएको जानकारी दिए । ‘कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन र अन्य देशमा उत्पादन भएको अक्सफोर्ड–अस्ट्राजेनेकाको फर्मुलामा अन्य देशमा उत्पादित खोपलाई पहिलो प्राथमिकता राख्न सिफारिस गरिएको छ,’ समितिका एक सदस्यले भने । प्राकृतिक प्रकोप वा महामारीका बेला तत्काल खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा रायसल्लाह दिन राष्ट्रिय खोप सल्लाहकार समिति गठन गरिएको छ ।
खोप सल्लाहकार समितिको बैठकले कोभिसिल्ड खोप पहिलो मात्रा लगाएको १२ सातापछि पनि दोस्रो मात्रा लगाउन सकिने निर्णय गरेको छ । फागुन २३ देखि ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्डको पहिलो मात्रा लगाइएको थियो । उनीहरूलाई दोस्रो मात्रा जेठ अन्तिमसम्म दिइसक्नुपर्नेमा खोप आउने निश्चित छैन ।‘१२ सातापछि पनि दोस्रो मात्रा खोप दिन सकिन्छ कि सकिँदैन भन्ने अन्योल छ । १२ सातापछि दोस्रो मात्रा दिए पनि खोप प्रभावकारी हुने रिपोर्ट छ,’ स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले भने । भारत सरकारले प्रभावकारी हुने भन्दै कोभिसिल्ड खोप १२ सातादेखि १६ साताभित्र दोस्रो मात्रा लगाउने निर्णय गरेको थियो ।