अर्थ राजनीति ~ माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण पुन: रोकिएको छ। आयोजनाको दोस्रो अडिट टनेलको गेटबाट पानी चुहिएपछि परीक्षण रोकिएको हो।‘पेनस्टकको समस्या सकियो। सुरुङको गेटको दुईवटा कुनामा अलिकति लिकेज देखिएको छ,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘मेलम्चीको जस्तै सुरुङको बन्द गर्ने गेटमा समस्या देखिएको हो। त्यो मिलाएपछि परीक्षण अघि बढ्छ।‘ आयोजनाका अनुसार पहिलो अडिट टनेल भैंसे (३ किमी) मा छ। दोस्रो अडिट टनेल ५ किमीमा पर्छ। सोही अडिट टनेलको गेटबाट पानी चुहिएको हो। पानी चुहिएपछि मर्मत गर्ने विषयमा परामर्शदाता कम्पनीसँग आयोजनाले छलफल गरिरहेको छ। ‘जसरी हामीले म्यानहोल मर्मत गर्यौं, त्यसरी नै मर्मत गर्दै जान्छौं,’ आयोजना प्रवक्ता डा. गणेश न्यौपानले भने, ’केही समय चलाएर फेरि मर्मत गर्नुभन्दा लिकेज रेक्टिफाइ गरेर जाँदा राम्रो हुन्छ।’ उनले प्राय हाइड्रोपावरहरु परीक्षण गर्दा लिकेज देखिनु सामान्य भएको बताए। आयोजनाका अधिकारीहरुका अनुसार सुरुङमार्गमा पहिले पानी हालिएको हुँदैन। सोही कारण परीक्षणका क्रममा सबै संरचना एक-एक गरेर हेर्नुपर्छ। केही समस्या आए रोकेर पुन: मर्मत गर्दै अघि बढ्नुपर्छ। सोही कारण परीक्षणका लागि कति समय लाग्छ भन्नै मुस्किल हुन्छ। करिब १५ दिनमा परीक्षण सक्ने भन्दै वैशाख १६ गते आयोजनाको सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको थियो।
तर तल्लो भर्टिकल (२७३ मिटर) र माथिल्लो भर्टिकल (३१० मिटर) जोड्ने तेस्रो भागको पेनस्टक पाइपमा बनाइएको ‘म्यानहोल’ को बिर्कोबाट पानी चुहिएपछि परीक्षण रोकियो। आइतबार मध्यरात मर्मत सकिएपछि सोमबार बिहानै पुन:पानी हालिएको थियो। म्यानहोलको बिर्कोबाट भने पुन: चुहिएको छैन। पेनस्टकमा कुनै समस्या आए भित्र गएर मर्मत गर्न म्यानहोल बनाइएको हुन्छ। आयोजनाको लक्ष्य चैत मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने थियो। प्राधिकरण कार्यकारी निर्देशक शाक्य पनि वैशाखमा एक युनिटबाट जसरी पनि उत्पादन थाल्ने भन्दै जोडबलका साथ लागेका थिए। तर कोरोना महामारी र सुरुङमार्गमा विभिन्न प्राविधिक समस्याहरु आएका कारण उत्पादन हुने मिति पछाडि धकेलिदै गएको छ। आयोजनाको पछिल्लो कार्यतालिका अनुसार गत चैतभित्रै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुनुपर्थ्यो। अहिलेसम्म त कम्तिमा दुई युनिटबाट १५२ मेगावाट विद्युत उत्पादन भइसकेको हुनुपर्थ्यो। अझै आयोजनाले कहिलेसम्म परीक्षण सकेर उत्पादन गर्न सकिन्छ भन्ने मिति एकिन गर्न सकेको छैन।