अर्थ राजनीति ~ नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’
यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।’नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको पाँच दिनपछि भारतले यो घटनाबारे औपचारिक रूपमा प्रतिक्रिया दिएको हो। कतिपय विश्लेषकले पछिल्लो समय ओलीको भारतसँग सम्बन्ध गहिरिएको भन्दै विकसित राजनीतिक घटनाक्रममा उसको पनि भूमिका रहेको बताइरहेका बेला भारतले यस्तो प्रतिक्रिया दिएको हो।