अर्थ राजनीति ~ जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) सरकार सहभागी हुने निश्चित भएपछि अहिले सो दलमा मन्त्री बन्नका लागि दौडधूप सुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् । वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएपछि प्रतिनिधिसभा सदस्य नरहेका नेताहरुको पनि दौडधूप बाक्लिएको छ । शीर्ष नेताको घरदेखि लिएर शक्ति केन्द्रहरुमा उनीहरु धाउन सुरु गरेका हुन् । जसपा स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई ८ देखि १० वटा मन्त्रालय दिने बताएका छन् । त्यहीअनुसार अहिले जसपामा मन्त्री चयन गर्ने काम भइरहेको छ । तर आकांक्षी धेरै भएपछि नाम चयनमा सकस भइरहेको कार्यकारिणी समितिका एक नेताले बताए । यो छोटो समयका लागि चुनावी सरकार भएका हुनाले पार्टीका शीर्ष नेताहरु नै जाने लगभग तय भइसकेको छ । तर शीर्ष नेताबाहेक अन्य वरिष्ठ नेताहरु पनि मन्त्रीका आकांक्षी देखिएका छन् । शीर्ष नेताहरुमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो,शरतसिंह भण्डारी,अनिलकुमार झा,राजकिशोर यादवको नाम चर्चामा रहेको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षबाट ठाकुर पक्षमा आएका उमाशंकर अरगरिया,विमल श्रीवास्तव,रुही नाज,रेणु गुरुङ र कलुदेवी विश्वकर्मामध्ये दुईजनालाई मन्त्री बनाउने लगभग तय भएको छ । सबैभन्दा बढी चर्चामा उमाशंकर अरगरिया र विमल श्रीवास्तवको रहेको छ । तर रुही नाज,रेणु गुरुङ र कलुदेवी विश्वकर्माले पनि दावी छाडेका छैनन् । एकजना महिलालाई जसरी पनि दिनुपर्छ भन्ने उनीहरुको माग रहेको छ ।जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भने आफै सरकारमा नजाने भएका छन् । यसको साटो उनले आफ्नो तर्फबाट दुईजनालाई पठाउने बताइएको छ । अध्यक्ष ठाकुरको तर्फबाट मन्त्रीको आकांक्षीमा वृशेषचन्द्र लाल,सर्वेन्द्रनाथ शुक्ला,चन्दा चौधरी,अकवाल अहमद,अकवाल मियाँलगायतका नेता दौडमा रहेका छन् । त्यसमध्ये वृषेशचन्द्रलाल,सर्वेन्द्रनाथ शुक्ल,अकवाल अहमद प्रतिनिधिसभा सदस्य थिएनन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति