माथिल्लो तामाकोसीको विद्युत उत्पादन समय धकेलियो

Machchapuchchre

अर्थ राजनीति  ~  बहुचर्चिंत ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन समय धकेलिएको छ । आयोजना परीक्षणका क्रममा पेनस्टक पाइपको मम्यान होलमा समस्या देखिएपछि आयोजनाको विद्युत् उत्पादन पछाडि धकेलिएको हो । सुरुङ तथा पेनस्टक परीक्षणको क्रममा रहेको आयोजनाको म्यानहोलबाट पानी चुहिएको छ । म्यान होलको बिर्कोबाट पानी चुहिएपछि अहिले परीक्षणको काम रोकेर मेकानिकल इन्जिनियरसहितले मर्मतको काम चलिरहेको छ । म्यान होल आयोजनाको पेनस्टक पाइपमा कुनै समस्या आउँदा मर्मतका लागि जाने गेट हो । सुरुङमा पानी पठाई करिब ६०० मिटरसम्म हेडमा पानी भर्दा म्यानहोलबाट पानी चुहिएको हो । म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकी म्यानहोलहरुको मर्मत सम्भार कार्य भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । तीन वटा म्यानहोलको निरीक्षण तथा मर्मत सम्भार केही दिनमै सकेर पुनः पानी भरेर परीक्षण सुचारु हुने सकिने प्रवक्ता न्यौपानेको भनाइ छ ।
सुरुङ तथा पेनस्टकमा पानी भर्ने काममा कुनै समस्या नआए जेठ अन्तिममा विद्युत् उत्पादनको परीक्षण गर्न सकिने प्रवक्ता न्यौपानेले बताए । आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गर्दा कुनै समस्या नदेखिए जेठ दोस्रो सातादेखि परीक्षण उत्पादन थाल्ने योजना थियो । आयोजनाबाट चाँडै विद्युत् उत्पादनका लागि प्रधानमन्त्री कार्यालयबाट दबाब छ । आयोजना उद्घाटन तयारीका लागि वैशाख १६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र सञ्चार मन्त्री पार्वत गुरुङसहित ऊर्जा तथा सिंचाइ सचिव देवेन्द्र कार्की आयोजना स्थल पुगेका थिए । त्यसबेला डिस्याण्डरमा पानी भर्न सुरु गरेर फर्केका थिए । आयोजना परीक्षणका क्रममा गम्भिर समस्या नभएको आयोजनाले जनाएको छ । “हरेक आयोजना पूरा भएपछि कुनै समस्या छन् कि भनेर विभिन्न चरणमा परीक्ष्ण गरिन्छ” आयोजनाका प्रवक्ता डा. न्यौपानेले भने “परीक्षणका क्रममा कुनै प्राविधिक समस्या देखियो भने मर्मत गरेर पूर्ण ठीक भएपछि मात्र उत्पादनमा जाने हो ।”

साना आयोजनाको त परीक्षण समय लाग्छ । यो आयोजना उच्च हेड भएको र ठूलो आयोजना भएकाले परीक्षण समय लाग्ने उनले बताए । ८ किलोमिटर सुरुङ छ, सुरुङमा पानी भर्नकै लागि पनि धेरै दिन लाग्छ । पेनस्टक पाइप र सुरुङ परीक्षणपछि विद्युत् गृहका उउपकरणको परीक्षण हुन्छ । अन्तर्राष्ट्रिय अनुभवी परामर्शतादाहरुको प्रत्यक्ष निगरानीमा काम भएकाले गुणस्तरीयतामा कुनै संका नगर्न समेत उनले आग्रह गरे । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सकेसम्म चाँडै विद्युत् उत्पादन गर्न कम्पनीको सिंगो टिम ३ महिनादेखि ध्यान केन्द्रित गरेको बताए । नेपालको हालम्मको ठूलो आयोजना र उच्च हेड भएकाले सतर्कतापूर्वक रुपमा परीक्षण गरिरहेको उनले बताए । ठूलो आयोजनामा दबाब र प्रभावका आधारमा हतार गर्न खोज्दा मेलम्चीको जस्तो दुर्घटना हुन सक्ने भएकाले संयमतापूर्वक काम गरिरहेको बताए । आयोजनाको हाइड्रोमेकानिकलको काम जटिल पनि हुने उनले बताए । आयोजनाको प्रसारण लाइन अन्तर्गत सिँटीमा भाँचिएको टावरको निर्माण कार्य भइरहेको छ । यस्तै दोलखाको सहरेमा बाँकीरहेको मल्टिसर्किट टावरको निर्माण सकेर तार तान्ने चरणमा पुगेको छ । साथै रामेछापको फुलासीमा निर्माणाधिन सवस्टेशनको सिभिल संरचनाको काम सकिएर उपकरण जडान भइरहेकोमा भारतीय मजदुरहरुमा कोरोना संक्रमण पुष्टी भएकाले हाललाई काम बन्द भएको आयोजनाले बताएको छ । मुख्य निर्माण अन्तर्गत बाँध र इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचना काम सकिएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । आयोजनाको ८ किलोमिटर मुख्य सुरुङ र ३७२ मिटर र ३१० मिटरका २ वटा ठाडो पेनस्टक पाइपको सुरुङ छन् । ठाडो पेनस्टक पाइप जडान भएको बीचमा २ सय मिटर र मुख्य सुरुङमा समेत ठाडो सुरुङसँग जोडिएको ठाउँमा पेनस्टक पाइप नै रहेको छ । आयोजनाको पेनस्टक पाइप र विद्युत् गृहमा जडान भएका मेसिनहरुको यस अघि नै सुख्खा परीक्षण सफल भइसकेको छ । विद्युत् गृहको भने डेढ वर्ष अघि नै पूरा भएकाले नियमित तताउने र मर्मत सम्भार जारी छ । आयोजनाको बाँध एक वर्ष अघि र बालुवा थिग्रयाउने पाखेरी एक महिना अघि परीक्षण पूरा भइसकेको छ । आयोजना पूरा भएपछि २२ मेगावाटको रोल्वालिङ डाइभर्सनबाट अर्को आयोजना निर्माण गर्ने गरी आयोजनाले तयारी थालेको छ । यो आयोजना पूरा हुने वित्तीकै वित्तीय व्यवस्थापन गरेर रोल्वालिङ सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत् उत्पादन हुनेछ । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डलरको मूल्य वृद्धि, लम्बिएको समयको प्रशासनिक खर्च र ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ बढी पुग्ने सम्भावना छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्