देउवालाई बहुमत जुटाउन सकस

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएकै दिन सोमबार राति ९ बजेदेखि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको दाबी गर्न दलहरूलाई आह्वान गरेकी छिन् । विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका एकमात्र दाबेदार हुन्  तर, उनले बैशाख ३० गते राति ९ बजेभित्र प्रधानमन्त्रीका लागि बहुमत सांसदको हस्ताक्षर जुटाउनु पर्नेछ । प्रधानमन्त्रीका बन्नका लागि बहुमत जुटाउन मंगलबार दिनभरि लाग्ने ,काँग्रेस सभापति शेरबहादुर देउवा , अनि उनका सहयोगी दलका नेताहरु प्रचण्ड र उपेन्द्र यादव , जसपामा तटस्थ बसेर ओलीलाई फाइदा पुर्याइरहेका महन्थ ठाकुर , अनि एमालेको माधव नेपाल आदि को  अबको रणनीति  के कस्तो छ त ? यिनै विषयहरुमा केन्द्रित रही काँग्रेस, माओवादी, माधव नेपाल समूह र जसपाका दुबै समूहका दिनभरिका गतिविधिलाई नियाल्ने प्रयत्न भयो । नेपाली कांँग्रेसका नेताहरुले देउवाको पक्षमा बहुमत जुट्ने दाबी गरेका छन् । मंगलबारको सम्वाद सकारात्मक रहेको र बुधबार बिहानैदेखि महन्थ ठाकुर, राजेन्द्र महतो, माधवकुमार नेपाल लगायतका नेताहरुसँग थप छलफल गरिने काँग्रेस नेताहरुले बताएका छन् ।उता प्रधानमन्त्री केपी ओलीले चाहिँ महन्थ ठाकुरसँग टेलिफोनमा लामो कुराकानी गरेको बुझिएको छ ।

बैशाख ३० भित्र बहुमत जुटाउन देउवाका लागि चुनौतीपूर्ण बनेको छ भने ओलीले चाहिँ विपक्षीले बहुमत नजुटाएमा ३० गते राति नै ठूलो दलको हिसाबले प्रधानमन्त्रीको सपथ खाने तयारी गरेको बुझिएको छ । शीतलनिवास स्रोतले  भन्यो, ‘देउवाजीले बहुमत जुटाएको भए त आजै शीतलनिवास आइसक्नुपर्ने हो, अब ३० गते राति ९ बजेसम्म पनि बहुमत जुटाउनुभएन भने त धारा ७६(३) अनुसार केपी ओलीले राति नै सपथ ग्रहण गर्ने सम्भावना रहन्छ ।’प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार निर्माणका लागि बहुमत जुटाउन मंगलबार दिनभरि राजनीतिक भेटघाटलाई अगाडि बढायो । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरे । अब काँग्रेस सभापति देउवाले बुधबार जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोका साथै नेकपा एमालेको माधव नेपाल पक्षसँग पनि छलफल गर्ने छन् । विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको नेताहरुले बताएका छन् । सभापति देउवासँग काँग्रेसका अन्य नेता पनि गठबन्धनको सरकार निर्माणमा तीव्ररूपमा लागेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्