अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले १४ वैशाखमा दुईवटा निर्णय गर्यो । एक, लुम्बिनी प्रदेशमा पार्टी निर्देशनविपरीत जाने चार सांसदलाई निष्कासन गर्ने । दुई, प्रधानमन्त्री केपी ओलीमाथि अविश्वास प्रस्तावको पक्षमा उभिने । त्यसैदिन बिहान जसपाका शीर्ष तहमा ६ जना नेता बैठक बस्न बालकुमारीस्थित पार्टी कार्यालयमा भेला भएका थिए । सुरुमै अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई भने- केन्द्रीय कार्यकारिणी समितिका बैठक बसौं । बहुमत केन्द्रीय कार्यकारिणी सदस्य आफ्नो पक्षमा रहेको बुझेका यादवको प्रस्ताव ठाकुरले ठाडै अस्वीकार गरे । जवाफमा ठाकुरले भने- निषेधाज्ञापछि बसौंला अहिले सम्भव छैन । ठाकुरको यो जवाफपछि १४ वैशाख बिहान शीर्ष नेताहरूको बैठक अगाडि बढ्नै सकेन । ६ जना रहेको शीर्ष तहमा ठाकुर र राजेन्द्र महतो मात्रै एकातिर भइदिए । जसले गर्दा त्यसदिन थप छलफल सम्भव भएन । तर, त्यसैदिन अर्का अध्यक्ष यादवले भने बहुमत सदस्य जुटाएर कार्यकारिणी सदस्यको बैठक राखे अनि दुईवटा निर्णय गराए । त्यही दुईवटा निर्णयमध्ये पहिलो नम्बरको निर्णय अनुसार, १६ वैशाखमा प्रदेशसभा सचिवालयले चार जना सांसदलाई निष्कासन गर्ने सूचना प्रकाशित गर्यो । दोस्रो निर्णय प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावलाई साथ दिने विषय भने टुंगो लागेको छैन । तर, बहुमत सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेका कारण जुनसुकै बेला कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन दिन सक्ने अवस्थामा छन् ।
संसदीय दलमा उपेन्द्र-बाबुराम पक्ष बहुमतमा
