२८ गतेपछि काठमाडौंको सडकमा माग्ने भेटिए ३ वर्ष जेल, हजारौं जरिवाना

Machchapuchchre

काठमाडौं । अब काठमाडौंका सडकमा न रुमाल थापेर गीत गाएको भेटिने छ न दुबै मृगौला फेल भएको भन्दै उपचारको गर्न आर्थिक सहयोगको अपिल गरेको सुनिने छ। बाटोमा हिँड्दा हिँड्दै वा गाडीमा कोट्याएर पैसा माग्ने पनि हुने छैनन्। किनकी काठमाडौं महानगरपालिकाले मंसिर २८ गतेपछि सडकमा माग्ने भेटिए कारबाही गर्ने जनाएको छ।

मंगलबार सूचना निकाल्दै महानगरले तीन दिनभित्र सबै प्रकारका माग्नेलाई सडकममा नबस्न भनेको हो। मंसिर २९ मा २५ औं महानगर दिवस मनाउन लागेको महानगरपालिकाले सो अवसरमा विशेष माग्नेरहित काठमाडौं पनि घोषणा गर्ने जनाएको छ। काठमाडौंमा माग्नेको यकिन तथ्यांक नभए पनि ५ सयदेखि एक हजारसम्म रहेको महानगरको अनुमान छ।

बाटोमा अव्यवस्थित रूपमा माग्नेको संख्या बढेपछि त्यसलाई व्यवस्थापन गर्न लागेको महानगरको दाबी छ। माग्ने वा माग्न प्रोत्साहन गर्ने दुबैलाई कारबाही गर्ने महानगरपालिकाको सूचनामा उल्लेख छ। सूचनामा भनेको छ, ‘बाध्यताले सार्वजनिक स्थलमा जीवन निर्वाह गर्नुपर्ने परिस्थितिको अन्त्य हुन गइरहेकोले पेशेवर रूपमा भिक्षा माग्न र माग्न लगाउन पूर्णतः निषेध गरिको छ।’

‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ नारासहित महानगरले तीन दिनभित्र सडकमा माग्ने भेटिए कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ। मुलुकी अपराध संहिताको दफा १ सय २६ मा भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

महानगरपालिकाले तीन दिनमै सबै सडकका माग्ने हटाउन सक्छ? महानगर प्रवक्ता ईश्वरमान डंगोल त्यसको लागि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा एउटा समिति बनेको र त्यसले नै माग्नेहरूको व्यवस्थापन गर्ने बताए। समितिमा महानगरीय प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमका कर्मचारी छन्।

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य भने तीन दिनमा बाटोबाट माग्ने नहटे मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूलाई व्यवस्थापन गरिने बताए। ‘तीन दिनभित्र सडकबाट माग्ने नहटे उनीहरूलाई उद्दार गरेर बालाजुको २२ धाराको एउटा घरमा राखिने योजना छ,’ उनले भने। उक्त घरमा लगेर वास्तविक असहाय र पेसेवर माग्ने छुट्याउने योजना रहेको उनले सुनाए।

‘हामीलाई जानकारी भएसम्म वास्तविक असहायभन्दा परिवारले नै बिहान माग्न पठाउने बेलुका आफ्नै घर फिर्ता लैजाने धेरै छन् भन्ने बुझिएको छ,’ आचार्यले भने, ‘त्यहाँ लगेपछि परिवार भएका लिन पनि आउने अनुमान छ। घर हुनेले वास्तविकता पनि भन्छन् र घर फिर्ता पठाइने छ। त्यहाँबाट वास्तविक असहाय छुट्याइन्छ। र वास्तवमै माग्नेलाई मानव सेवा आश्रममा स्थानान्तरण गरिनेछ।’

गत वर्ष पनि महानगरपालिका, महानगरीय प्रहरी, मानव सेवा आश्रम र पशुपति क्षेत्र विकास कोष मिलेर पशुपति मन्दिर परिसरमा रहेको माग्नेलाई पनि व्यवस्थापन गरिने बताएको थियो। त्यतिबेला माग्नेलाई उद्धार गरेर मानव सेवा आश्रममा लग्ने र त्यहाँबाट वास्तविक माग्ने छुट्याउने महानगरको योजना थियो।

योजनाअनुसार माग्नेहरूको व्यवस्थापन गरिए पनि पूर्ण रूपमा पशुपति क्षेत्र माग्नेरहित भने भएको छैन। काठमाडौं महानगरपालिकाले ल्याएको यो योजनाले सफल भए अबको केही दिनमै काठमाडौंका सडक माग्नेरहित हुने छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्