ईश्वर पोखरेलका योजना : जेठ अन्तिममा उपचुनावको प्रस्ताव

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बैशाख ६, १० र १२ गते तीनचोटि बालुवाटारमा बसेको थियो । सोही बैठकले स्थायी कमिटीको पुनर्गठन गरेर माधव पक्षका नेताहरुलाई हटाई एकलौटीरुपमा १९ जनाको स्थायी कमिटी घोषणा गरेको थियो । माधव पक्षका नेताहरुको उपस्थितिविना बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरलद्वारा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो । महासचिव पोखरेलको संगठनात्मक प्रस्तावमा हाल रिक्त रहेका सांसद पदमा जेठको अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिइएको छ । सरकारले यही जेठ ६ गते राष्ट्रियसभा सदस्यमा राम बहादुर थापाका कारण खाली रहेको एक सीटमा उपचुनाव गर्ने मिति तय गरिसकेको छ । अब प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टको सीटमा उपनिर्वाचनको मिति तय गर्न बाँकी छ । त्यस्तै प्रदेशसभामा दर्जनौं सिटहरु रिक्त बनेका छन् । स्थानीय तहमा पनि धेरै ठाउँमा उपचुनाव गर्न बाँकी छ । निर्वाचन आयोगले यी तीनै तहका रिक्त पदमा एकैचोटि उपचुनाव गरिने बताएको छ । बालुवाटारबाट पारित संगठनात्मक प्रस्तावमा पार्टीका विवादित संरचनाहरु कायमै राख्ने, असारसम्म सदस्यता नवीकरण गरिसक्ने र भदौमा वडातहसम्म अधिवेशनहरु गर्ने योजना प्रस्तुत गरिएको छ । माधव नेपाल समूहको हकमा संगठनात्मक प्रस्तावमा भनिएको छ, ‘कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्