शक्ति संघर्षको मैदानमा केपी-माधव आमने सामने

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेभित्र शक्ति संघर्षको मैदानमा आमने सामने भएका छन् । यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र नेपाल यसैगरी आमने सामने भएर एक अर्काको आलोचना गर्दथे । तर त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई साथ दिने गरेका थिए तर गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि एमालेभित्र ओली र नेपाल आमनेसामने भएर कारवाही तथा समानान्तर कमिटी निर्माणको तहसम्म पुगेका छन् । पार्टीको हित विपरित काम गरेको भन्दै अध्यक्ष ओलीले केन्द्रीय समितिको बैठकबाट वरिष्ठ नेता नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । यसले पार्टीभित्रको द्वन्द्वलाई झन् बढाएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जसरी विवादको सुरुवात भएको थियो, त्यस्तै विवाद एमालेमा सुरु भएको हो । तत्कालीन नेकपामा जसरी प्रचण्ड–माधव नेपाल समूह र ओली समूहको छुट्टा छुट्टै बैठक तथा भेला भइरहेका थिए, अहिले एमालेमा पनि त्यही अभ्यास सुरु भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले माधव समूहका नेताहरुलाई पदबाट हटाउँदै धमाधम कारवाही गरिरहेका छन् भने माधव नेपाल समूहले पनि लगातार बैठक राखेर समानान्तर कमिटी निर्माण गर्दै अगाडि बढिरहेको छ । चैत ५ गते सम्पन्न माधव समूहको राष्ट्रिय भेलाले प्रधानमन्त्री ओलीको राजीनामा नमाग्ने तर पार्टीमा समानान्तर संरचना बनाउँदै अघि बढ्ने निर्णय गरेको थियो । नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ गते फैसला गर्दा तत्कालीन सत्तारुढ दल राजनीतिक रुपमा विभाजित भइसकेको थियो । त्यतिबेला नेकपाको एउटा पक्षलाई ओलीले र अर्को पक्षलाई प्रचण्ड–माधव पक्षले नेतृत्व गरेका थिए । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि फागुन २४ गते पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच गम्भीर छलफल भयो । एमालेमै फर्कने निर्णयका साथ छुटिने बेला एमालेका वरिष्ठ नेता नेपालले भनेका थिए, ‘अब सबै तीतामीठा कुराहरु बिर्सेर एमालेमै फर्किन्छु ।’ यसरी दुई पक्षबीच द्वन्द चलिरहँदा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई छलफलका लागि बालुवाटार बोलाए  तर नेता नेपालले बालुवाटारमा गएर भेट्न अस्वीकार गरेपछि चैत २ गते एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच दोस्रो तहका केही नेताको उपस्थितिमा भेटघाट एवं छलफल भयो । दुवै पक्ष आ–आफ्नो अडानमा रहेका कारण उक्त छलफलले कुनै निकास निकाल्न सकेन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्