सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म सञ्चालन नहुनु दुःखद: नेता साह

RBB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय संचालन नभएकोमा दु:ख व्यक्त गरेका छन् । बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा बारा जिल्लाका नेताहरुको टोलीले भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालसंग भेट गरेका छन् ।

सो क्रममा अध्यक्ष साहले सरकारी निर्णय भएको ४ वर्ष भइसक्दा पनि कार्यालय संचालन नहुनु दु:खद रहेको जीकिर गरे । उनले भने, “बाराको सिम्रौनगढ जस्तो ऐतिहासिक नगरीमा एकिकृत सेवा केन्द्र स्वीकृत भइ सञ्चालनका लागि घर भाडामा लिएको पनि दुई वर्षभन्दा बढी वितिसक्दा समेत नापी र मालपोत लगायतका सेवा प्रवाह अझसम्म सुचारू हुन नसक्नु दुःखद हो । यस्तो गम्भीर विषयमा पनि लापरबाही हुनाले सिम्रौनगढबासीलाई दुखी मात्र बनाएको छैन, स्थानीयलाई मालपोतसम्बन्धि कामका लागि समस्या भइरहेको छ । हामी आग्रह गर्दछौं कि उक्त कार्यालय छिटो संचालनका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ।”

जवाफमा मन्त्री अर्यालले कर्मचारी अभावका कारण कार्यालय संचालन हुन नसकेको भन्दै छिटै कार्यालय उद्घाटनका लागि आफै जाने आश्वासन दिइन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्