Artharajniti ~ प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूको बैठक मंगलबार बस्दैछ। प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफलका लागि बैठक बस्ने तयारी भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। समय भने तय भइनसकेको उनले जानकारी दिए। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन्। जेठ १५ गते बजेट प्रस्तुत गर्न दिए पनि आजबाट हुने बजेटमाथिको छलफल रोक्ने उनीहरूको तयारी छ।प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बोलाइएको छ। प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुम प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि छलफल भएको थियो। सदनको गतिरोध अन्त्यलगायत विषयमा छलफल भए पनि प्रमुख दलहरूबीच सहमति भने जुटेको थिएन। यद्यपि गृहमन्त्रीको राजीनामा माग्ने विषयमा विपक्षी दलहरूबीच मत बाझिएको छ। माओवादी केन्द्र र रास्वपा राजीनामा दिनुपर्ने अडानमा छन्। एकीकृत समाजवादीले भने गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिनुपर्ने बताउँदै आएको छ। प्रमुख दलहरूको बैठकअघि प्रचण्डले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए।